बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आश्विन शुक्ल सप्तमी : कालरात्रि देवीको आराधना तथा फूलपाती भित्र्याइँदै

सोमबार, असोज १३ २०८२

काठमाडौँ । वडादसैँ अर्थात् नवरात्रको आठौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको वैदिक विधिपूर्वक पूजा–आराधना गरिँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष चौथी तिथि वृद्धि भएकाले सप्तमी तिथि आज आठौँ दिन परेको हो ।

धार्मिक मान्यताअनुसार प्राणीलाई नष्ट गर्ने काललाई समेत भगवती कालरात्रिले नष्ट गरिदिन्छिन् । कृष्णवर्णकी भयङ्कर आकृतिमा प्रकट हुने भएकै कारण देवीलाई कालरात्रि भनिएको विभिन्न ग्रन्थमा उल्लेख छ ।

यसअघि असोज ६ गते घटस्थापनासहित नवरात्र प्रारम्भ भई क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता र कात्यायनी देवीको आराधना सम्पन्न भइसकेको छ । चौथी तिथि वृद्धि भएकाले यस वर्षको नवरात्र दशरात्र बनेको समितिले स्पष्ट गरेको छ ।

आज आठौँ दिन कालरात्रि देवीको पूजा आराधना गर्नुका साथै नवरात्रभर दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रको पाठ गर्ने परम्परा रहिआएको छ । धार्मिक विश्वासअनुसार देवीको आराधनाबाट शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता रहेको छ । नौ दिनसम्म गरिएको पूजाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गरिन्छ ।

यसैदिन आश्विन शुक्ल सप्तमीका अवसरमा फूलपाती भित्र्याउने परम्परासमेत छ । समितिका सदस्य प्रा।डा। देवमणि भट्टराईका अनुसार फूलपाती अपराह्न भित्र्याइने वैदिक विधि रहेको र यसका लागि विशेष साइत चाहिँदैन ।