म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा टिकटक भिडियो खिच्ने क्रममा कालीगण्डकी नदीमा खसेर एक युवक बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार कालीकोटको शुभकालिका गाउँपालिका–८ निवासी अन्दाजी २२ वर्षीय सदान्द पोखरेल शनिबार दिउँसो कालीगण्डकी नदीमा बगेर बेपत्ता भएका हुन् । पोखरेल म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको ठूलोखोला जलविद्युत् आयोजनामा कार्यरत थिए ।
घटनास्थल कालीपुल बसपार्क नजिकै गण्डकी होटल एण्ड रेष्टुरेन्टको पछाडिबाट नदी किनारमा टिकटक खिच्ने क्रममा चिप्लिएर उनी नदीमा खसेको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।
बेपत्ता पोखरेलको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ । हालसम्म उनको अवस्थाबारे कुनै जानकारी नआएको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।