काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्व हस्तान्तरणका लागि तयार रहेको बताएका छन्। बिहीबार काठमाडौंमा सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सधैंभरि अध्यक्षको पदमा रहिरहनु नपर्ने धारणा राख्दै विशेष महाधिवेशनपछि अध्यक्ष नबन्ने संकेत समेत दिएका छन्।
उनका अनुसार, जेन-जी आन्दोलनले शीर्ष नेतृत्व परिवर्तनबारे उठाएको प्रश्नलाई सम्बोधन गर्ने उद्देश्यले माओवादी केन्द्रले केन्द्रीय कमिटी विघटन गरी अध्यक्षसहित पदाधिकारीका पदहरू अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ।
“मलाई अब पदमा बसिराख्नैपर्छ भन्ने छैन। तर कतिपय साथीहरूलाई त्यस्तो लागिरहेको पनि सुन्छु। तर त्यो होइन,” प्रचण्डले स्पष्ट पारे।
प्रचण्डले आफू जिम्मेवारीबाट भाग्ने पक्षमा नरहेको तर नयाँ पुस्ताको नेतृत्वलाई अवसर दिने समय आएको उल्लेख गरे। “अन्तिम क्षणसम्म लडिरहनुपर्ने संकल्प मभित्र छ। तर, नेतृत्व परिवर्तन विधिसम्मत ढंगले हुनुपर्छ भन्ने मेरो धारणा हो,” उनले जोड दिए।