काठमाडौँ । कञ्चनपुर भीमदत्त नगरपालिका–३ भासीका विपिन जोशीको सकुशल रिहाइका लागि उनको परिवारले अन्तर्राष्ट्रिय दबाब बढाउने प्रयासलाई अझ सक्रिय बनाएको छ। विपिनकी बहिनी पुष्पाले बुधबार साँझ सामाजिक सञ्जालमार्फत आफूहरू यसपटक अमेरिका जाँदै गरेको जानकारी दिएकी छन्।
यसअघि गत साउन अन्तिम साता विपिनकी आमा र बहिनीलाई इजरायलले राष्ट्रसंघ, अमेरिकी सरकार र अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्ने उद्देश्यले तेलअविव बोलाएको थियो। इजरायली पहलमा उनीहरूले त्यहाँ भेटघाट गरी अन्तर्राष्ट्रिय स्तरमा विपिनको रिहाइका लागि अभियान चलाएका थिए।
पुष्पाले विगतमा अन्तर्राष्ट्रिय मित्र राष्ट्रहरू र संसारभरका नेपालीहरूले दिएका अथाह सहयोगप्रति आभार व्यक्त गर्दै दाइको स्वतन्त्रता सुनिश्चित गर्न फेरि पनि आवाज उठाउन अपिल गरेकी छन्। उनले विपिनको रिहाइ अब केवल पारिवारिक नभई अन्तर्राष्ट्रिय मुद्दा भएको भन्दै अन्य मुलुकका नागरिकलाई समेत यस अभियानमा जोडिन आग्रह गरेकी छन्।
हमासको सशस्त्र समूह कसाम ब्रिगेड्सले गत शनिबार विपिनसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको थियो। तर, उनीहरूको वास्तविक अवस्था र विवरणबारे केही जानकारी खुलाइएको छैन।
सन् २०२३ अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलको किबुजमा आक्रमण गर्दा १,२०० जनाको मृत्यु भएको र विपिनसहित २५१ जनालाई बन्धक बनाएको थियो। उक्त आक्रमणमा लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।
हमासको आक्रमणपछि इजरायलले गरेको प्रतिकारात्मक कारबाहीमा अहिलेसम्म ६० हजारभन्दा बढी मानिस मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। बीबीसीका अनुसार मृतकमध्ये करिब १८ हजार ५ सय बालबालिका र ९ हजार ७ सय महिला छन्। २२ महिनादेखि जारी युद्धमा डेढ लाखजति घाइते भएका छन्।