काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
महाशाखाले जनाएको अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक/दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायु प्रभावकारी रहेकोले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली र अन्य भूभागमा आंशिक बदली अवस्था देखिएको छ।
यसैगरी बागमती र गण्डकी प्रदेशका केही स्थान, कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली रहने र अन्य स्थानमा आंशिक बदली रहनेछ। राति भने पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा देशका अन्य पहाडी भूभागका एक/दुई स्थानमा पनि मध्यम वर्षा पर्ने सम्भावना छ।