काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक भोलि मंगलबार बस्ने भएको छ। बैठक बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा सुरु हुनेछ।
पार्टीले जारी गरेको सूचनाअनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन र आगामी रणनीतिसम्बन्धी गम्भीर छलफल हुनेछ। बैठकको एजेन्डामा सात मुख्य विषयवस्तु समेटिएका छन्।
बैठकमा हालै सम्पन्न प्रदेशस्तरीय बैठकहरूबाट प्राप्त विवरण सभापतिहरूले प्रस्तुत गर्नेछन्। त्यसपछि परिवर्तित राजनीतिक परिस्थितिमा केन्द्रीय सदस्यहरूको धारणा प्रस्तुत गरिनेछ।
साथै, पार्टी संगठन र विभागीय संरचनासम्बन्धी विषयमा छलफल हुने र आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अपनाउने रणनीति तय गरिने तयारी गरिएको छ। बैठकमा महाधिवेशनसम्बन्धी तयारी र अन्य विविध विषयमा आवश्यक निर्णय लिन पनि योजना बनाइएको छ।