काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेता एवं निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको घरमा जलेको अवस्थामा भेटिएको भनिएको रकममाथि अनुसन्धान सुरु गरेको छ।
आइतबार विभागको टोलीले दुवै घरमा पुगेर घटना सम्बन्धी मुचुल्का कागज खडा गरी अनुसन्धान अगाडि बढाएको हो। टोलीले जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन गरेको छ।
जेनजी आन्दोलनका क्रममा यी दुवै नेताको घर प्रदर्शनकारीले जलाएका थिए । उक्त घरमा ठूलो मात्रामा नगद रकम रहेको भन्दै भिडियोसमेत सार्वजनिक भएको थियो ।
‘जेन–जी’ आन्दोलनका क्रममा भदौ २४ मा प्रदर्शनकारीले देउवा र खड्काको बूढानीलकण्ठस्थित घरमा तोडफोड र आगजनी गरेका थिए। घटनापछि दुवै घरमा जलेका नेपाली र विदेशी नोटको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए। ती भिडियो र फोटोको फरेन्सिक जाँच अहिलेसम्म भइसकेको छैन।
घर जलेको तेस्रो दिनदेखि प्रहरीले दुवै नेताका घरमा बाहिरका मानिसलाई प्रवेश रोक लगाएको थियो। घटनाको डेढ सातापछि विभागले अनुसन्धान अघि बढाएको हो।
विभागका एक अधिकारीका अनुसार, ‘आगजनी भएका कतिपय नेताका घरमा नोट भेटिएको र कतिपय सग्ला नोट प्रदर्शनकारीले लगेको भन्ने विभिन्न तस्बिर र भिडियो बाहिरिएका थिए, जसलाई हामीले सूक्ष्म रूपमा नियालिरहेका थियौं। प्रारम्भिक स्क्रिनिङपछि घटनास्थलमै गएर निरीक्षण गरिएको छ।’
कांग्रेस सभापति देउवाको सचिवालयले भने जलेको रकम भेटिएको र रकम राख्न सुरुङ नै प्रयोग गरिएको दाबीसहितका भिडियोहरू भ्रामक भएको जिकिर गरेको छ । उक्त सुरुङ नभइ पानी ट्यांकी रहेको दाबी देउवाको सचिवालयको थियो ।