काठमाडौं । यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । चाडपर्वको समयमा देशभर यातायात सहज बनाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यस्तो व्यवस्था गरेको हो ।
महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार अब असोज २२ गतेसम्म सार्वजनिक सवारी साधनले गन्तव्यस्थलसम्म पुग्न छुट्टै रुट लिनु पर्ने छैन । तर, विशेष प्रकृतिका कारण केही मार्गमा निषेध गरिएको आकार–प्रकारका सवारी साधनमा भने बन्देज कायम रहनेछ ।
यात्रा गर्दा यात्रुले अनिवार्य टिकट लिनुपर्ने महासङ्घले जानकारी दिएको छ । त्यस्तै, आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तु बाहेकका ट्रेलर तथा ठूला सवारी साधनलाई नारायणघाट–काठमाडौं खण्डमा आजदेखि पूर्णिमासम्म सञ्चालनमा रोक लगाउने निर्णय सरकारले यसअघि नै गरिसकेको छ ।