बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘जेनजी’का माग तत्काल सम्बोधन गर्न सुझाव

सोमबार, असोज ६ २०८२

काठमाडौँ । विभिन्न सरोकारवालाले ‘जेनजी’ आन्दोलनमार्फत युवाले अघि सारेका माग तत्काल सम्बोधन गर्न सरकारलाई सुझाव दिएका छन् ।

शल्यक्रिया एन वानले आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा वक्ताहरुले युवाले उठाएका माग जायज भएको उल्लेख गर्दै सरकारले ढिलाइ नगरी प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले ‘जेनजी’ आन्दोलन भ्रष्टाचारविरुद्ध भएको भन्दै, सोहीअनुसार सरकारले नीति–कार्यक्रम अघि बढाउनुपर्ने बताए । “जेनजीले गरेको आन्दोलन मुलुकको विकास र सुशासनका लागि हो, माग सम्बोधनमा ढिलाइ हुनु हुँदैन,” उनले भने ।

स्त्रीरोग विशेषज्ञ डा भोला रिजालले पनि यो आन्दोलन अपरिहार्य रहेको भन्दै चेतावनीस्वरूप टिप्पणी गरे । “देशले युवाशक्तिलाई गम्भीरतापूर्वक लिन सकेन भने पुनः २०४६ वा २०६२र०६३ जस्तै परिस्थिति दोहोरिन सक्छ,” उनले भने ।

जेनजी प्रतिनिधि श्रीया श्रेष्ठले शक्तिशाली भ्रष्टाचार नियन्त्रण आयोग, निर्णय प्रक्रियामा युवाको अनिवार्य सहभागिता, शिक्षा र रोजगारीको सुनिश्चितता, पारदर्शिता र जवाफदेहिताको प्रत्याभूति आफूहरूको प्रमुख माग रहेको स्पष्ट पारिन् ।

त्यस अवसरमा पूर्वसैनिक अधिकारी, व्यवसायी, अधिवक्ता र चिकित्सकसहितका सहभागीहरुले आन्दोलनका क्रममा भौतिक संरचना र व्यवसायमा क्षति भएकोमा दुःख व्यक्त गर्दै पनि, युवाले उठाएका मुद्दा जायज भएकाले तुरुन्त सम्बोधन गर्न सरकारलाई सुझाव दिए ।