काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएकोमा बधाई नदिन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले खादा–माला लिएर भेट्न आउन आवश्यक नभएको बताउँदै, त्यसको साटो ५ महिनाभित्र मन्त्रालयको क्षेत्रमा गर्न सकिने ठोस काम र आइडिया ह्वाट्सएपमा पठाउन आग्रह गरेका छन् ।
पुनले भनेका छन्, “मेरो पहिलो घोषणा, कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नुहोला र बधाई दिन खादा माला लिएर नआउनुहोला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनुहोला ।”
उनले आफूलाई मन्त्री नभन्न आग्रह गर्दै थपे, “कसैलाई मन्त्री नै भन्न धेरै रहर भए ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नुहोला ।”
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले महावीर पुनसहित पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा. संगीता मिश्रा र कृषि विज्ञ डा. मदन परियारलाई मन्त्रीमा सिफारिस गरेको थियो । उनीहरूको नियुक्ति तथा शपथ आज हुने भएको छ ।