काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पाँच नयाँ मन्त्री सिफारिस गरेको छ । राष्ट्रपति कार्यालयका अनुसार आजै उनीहरूको नियुक्ति र शपथ ग्रहण हुने भएको छ ।
प्रधानमन्त्री कार्कीले सिफारिस गरेका व्यक्तिहरूमा पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा. संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र कृषि विज्ञ डा. मदन परियार छन् ।
सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । कानुन मन्त्रालय हालसम्म गृहमन्त्री ओमप्रकाश अर्यालको मातहतमा थियो ।
डा. मिश्रा स्वास्थ्यमन्त्रीमा नियुक्त हुने भएकाले आइतबार अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् । पत्रकार खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइनेछ ।
त्यस्तै डा. परियार कृषि विकास तथा पशुपंक्षी मन्त्रालयमा जिम्मेवारी सम्हाल्ने छन् भने राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व दिन सिफारिस गरिएको छ ।