काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।
शान्ति समाजले आइतबार जारी गरेको विज्ञप्तिमा हालैको राजनीतिक घटनाक्रम र जेन–जी आन्दोलनका क्रममा भएको जनधन क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै, सुशासनबिना शान्ति सम्भव नभएको उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचार र कुशासनकै कारण मुलुकले ठूलो क्षति बेहोर्नु परेको हो। यसका जिम्मेवार पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकलगायतलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ। आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, ऐतिहासिक धरोहर, प्रेस तथा नागरिक सम्पत्तिमा भएको आगजनी र तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गरी दण्डित गर्न आवश्यक छ।”
साथै, विज्ञप्तिमा प्रहरी र प्रशासनलाई राजनीतिक छायाबाट मुक्त गरी स्वायत्त बनाउनुपर्नेमा जोड दिइएको छ। संवैधानिक तथा न्यायिक निकायमा दलगत भागबन्डाका आधारमा नियुक्त व्यक्तिहरूले मार्ग प्रशस्त गर्नु हुँदैन भन्ने कुरा पनि उल्लेख गरिएको छ।
शान्ति समाजले अन्तरिम सरकारलाई सम्पूर्ण नागरिकको अभिभावकको भूमिकामा रहन, संविधान र उपलब्धिहरू सुरक्षित राख्न, तथा छिटोमा स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आग्रह गरेको छ।