काठमाडौं । नेपाली कांग्रेसले भदौ २३ र २४ गतेको आन्दोलनका माग विपरीत प्रतिनिधिसभा विघटन गर्ने कदमलाई असंवैधानिक ठहर गरेको छ।
शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गर्दै यसबारे अन्य दलसँग छलफल र समन्वय गरेर अघि बढ्ने घोषणा गरेको हो।
जेनजी पुस्ताको दुईदिने विद्रोहपछि पहिलोपटक बसेको कांग्रेस बैठकले आन्दोलनका क्रममा भएको मानवीय क्षति र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको नोक्सानीप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न माग गरेको छ।
सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणामाथि भएको आक्रमणको पनि बैठकले निन्दा गरेको छ। प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार उपचाररत देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ।
बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाबारे दुईथरी धारणा प्रस्तुत भएका थिए। नेता कृष्णप्रसाद सिटौलाले पुनःस्थापनाको अजेन्डा अघि बढाउनुपर्ने धारणा राख्दा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला, विमलेन्द्र निधि र महेन्द्र यादवलगायतले भने फागुन २१ गतेका लागि निर्वाचन घोषणा भइसकेकाले त्यसैअनुसार तयारी गर्नुपर्ने बताएका थिए। अन्ततः अन्य दलसँगको छलफलपछि मात्र निर्णयमा पुग्ने सहमति भएको छ।
यसैबीच, महामन्त्री थापाले मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई सम्बोधन गर्न पार्टीभित्र पुनर्संरचना तथा पुनर्गठन अनिवार्य भएको भन्दै तत्काल नियमित वा विशेष महाधिवेशन बोलाउनुपर्ने प्रस्ताव प्रस्तुत गरे। उक्त प्रस्तावलाई अर्का महामन्त्री शर्माले समर्थन जनाए। पार्टी सभापति देउवा उपचारपछि निको भएपछि यस विषयमा केन्द्रीय समिति बैठकमा विस्तृत छलफल हुने भएको छ।