काठमाडौं। दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत लेखा अधिकृत (सातौं तह) टंकबहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई सुर्खेतको वीरेन्द्रनगर–९, मंगलगढी चोकबाट नियन्त्रणमा लिएको हो।
कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको उजुरीका आधारमा कारबाही गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
हाल कार्कीविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।