शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेको कार्यक्रममा अध्यक्ष ओली गएनन्

शुक्रबार, असोज ३ २०८२

काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेका छन्।

कार्यक्रममा ओलीका लागि कुनै आसन व्यवस्था गरिएको छैन। महासचिव शंकर पोख्रेलले कार्यक्रम सञ्चालन गरेका छन् भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्षता गरेकी छन्।

प्रमुख वक्ताका रूपमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उपस्थित छन्।

जेन–जी युवा आन्दोलनपछि सरकारको नेतृत्व छाड्न बाध्य भएका ओली अझै औपचारिक कार्यक्रममा सार्वजनिक रूपमा उपस्थित भएका छैनन्।

यसैबीच हिजो भक्तपुर डेरामा सरेका अध्यक्ष ओलीले आज संविधान दिवसका उपलक्ष्यमा एक विज्ञप्ति जारी गर्दै गत साता जेन-जीको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलेको दाबी गर्दै घटनाको गहिरो छानबिन गर्न माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै उनले प्रदर्शनमा घुसपैठ भएको र षड्यन्त्रकारीहरूले हिंसा मच्चाएको आरोप लगाए ।

ओलीले आफ्नो विज्ञप्ति भनेका छन्, ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्दछ।’

उनले उक्त घटनामा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।संविधानको रक्षा र देशको सार्वभौमसत्तामाथि भइरहेको आक्रमणविरुद्ध एकजुट हुन आह्वान गरेका छन् ।