बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जेन्जी आन्दोलनमा भएको क्षतिप्रति गम्भीर छानबिन आवश्यक : उपाध्यक्ष पौडेल

शुक्रबार, असोज ३ २०८२

काठमाडौं  । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जेन्जी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गम्भीर छानबिन आवश्यक रहेको बताएका छन् । साथै, व्यक्तिगत रूपमा भएका कमजोरी र गल्तीका लागि क्षमायाचना पनि गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि आफू पनि उपप्रधान तथा अर्थमन्त्री पदबाट विदा भएका पौडेलले बिहीबार पहिलो पटक धारणा सार्वजनिक गर्दै आन्दोलनका घटनाबारे आत्ममूल्यांकन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

“विगतमा एमालेले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुन्छ । व्यक्तिगत रूपमा आफ्नो तर्फबाट भएका गल्ती, कमजोरी र भूलहरूप्रति क्षमायाचना गर्दछु,” पौडेलले भनेका छन् ।

उनले आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिको निन्दा गर्दै निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न र क्षतिग्रस्त संरचनाको शीघ्र पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन् । साथै, जनताको विशेषगरी युवा पुस्ताको असन्तुष्टि, आक्रोश र आकांक्षा बुझ्न नसक्नु, भ्रष्टाचार नियन्त्रण र सुशासनमा सुधार ल्याउन नसकनु आन्दोलनका प्रमुख कारण भएको स्वीकार गरेका छन् ।

संविधान दिवसको अवसरमा पौडेलले सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले अब एमालेले युवा पुस्तासँग एकाकार भई पार्टीको संगठन, कार्यशैली र आचरणमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।

“संविधानको रक्षा, प्रयोग र विकासका लागि सबै नेपालीले योगदान दिन सकून्, आपसी सद्भाव र एकताका साथ विकास, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढ्न सकून्,” पौडेलले भनेका छन् ।