काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नभएको वर्तमान अवस्थामा संसद्को जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न राष्ट्रियसभा निरन्तर सक्रिय रहने विश्वास व्यक्त गरेका छन् ।
संविधान दिवसका अवसरमा शुक्रबार जारी शुभकामना सन्देशमा अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति, समृद्धि र प्रगतिका शुभकामना दिँदै संविधान कार्यान्वयन, आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा र त्यसको पूर्ण पालना गर्न सबैलाई आग्रह गरे ।
उनले जेन–जी पुस्ताको आन्दोलनले ल्याएको परिवर्तनपछि तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र जननिर्वाचित नेतृत्वमार्फत संविधानको रक्षा गर्ने चुनौती मुलुकका अगाडि रहेको उल्लेख गरे ।
सन्देशमा दाहालले संविधान निर्माणका क्रममा जीवन आहुति दिने सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूप्रति उच्च सम्मान व्यक्त गरे । विसं २०७२ असोज ३ गते संविधानसभाबाट जारी संविधानको सम्मानस्वरूप प्रत्येक वर्ष यो दिनलाई संविधान दिवसका रूपमा उत्सव र गौरवसाथ मनाउने गरिएको पनि उनले स्मरण गराए ।