बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संविधानले नेपाली समाजलाई राष्ट्रिय एकतामा जोडेको छ : राष्ट्रपति पौडेल

शुक्रबार, असोज ३ २०८२

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विविधतालाई आत्मसात् गर्दै नेपाली समाजलाई व्यापक राष्ट्रिय एकतामा बाँधेको बताएका छन् ।

संविधान दिवसका अवसरमा शुक्रबार जारी शुभकामना सन्देशमा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने आधार तयार गरेको उल्लेख गरे । उनका अनुसार राज्यका सेवासुविधामा समान पहुँच दिलाउन र सामाजिक सुरक्षाको प्रत्याभूति गर्न संविधानले ठोस आधार खडा गरेको छ ।

संविधानको मर्मलाई व्यवहारमा उतार्न सबैले मन, वचन र कर्मबाट इमान्दार प्रयास गर्नुपर्नेमा राष्ट्रपति पौडेलले आह्वान गरे । उनले नेपालको संस्कृति, प्रकृति र जलस्रोत–ऊर्जा क्षेत्रको उचित व्यवस्थापन गर्न सके छिट्टै नेपाल समुन्नत राष्ट्र बन्न सक्ने विश्वास व्यक्त गरे ।

हिमाल, पहाड र तराईको भौगोलिक विविधतासहितको बहुजाति, बहुभाषी र बहुसंस्कृति पहिचानलाई संविधानले समान संरक्षण दिएको उल्लेख गर्दै उहाँले नेपालीबीचको आपसी सद्भाव र सहअस्तित्वमा आँच नपार्ने अपेक्षा गरे ।

२०७२ साल असोज ३ गते जारी संविधानको ऐतिहासिक उपलब्धिको स्मरणमा मनाइने संविधान दिवसका अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिएका छन् । उनले गणतन्त्र स्थापनार्थ प्राण आहुति दिने सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक आन्दोलनका नेतृत्वकर्ता, कार्यकर्ता र आम नागरिकको योगदानको उच्च प्रशंसा गरेका छन् ।