काठमाडौँ। नागरिक समाजका अगुवाहरूले अन्तरिम सरकारको काम चुनावसम्म सीमित रहोस् भन्ने सुनिश्चित गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेका छन्।
बिहीबार शीतल निवासमा आयोजित भेटमा उनीहरूले ज्ञापन पत्र बुझाउँदै दलहरूमाथि अनावश्यक प्रतिशोध नलिन पनि अनुरोध गरेका छन्। उनीहरूको भनाइमा यदि यस्तो गरियो भने अनावश्यक तनाव सिर्जना हुनेछ।
नागरिक समाजका अगुवाहरूले भने, “लोकतन्त्रको आधारस्तम्भ आम नागरिक र राजनीतिक दलहरू हुन्। उनीहरूको भूमिकालाई न्यूनीकरण गर्ने, दलका विरुद्ध प्रतिशोध साध्ने र संवैधानिक संरचनालाई असंवैधानिक ढंगले चलाउने प्रयास भए अन्तरिम सरकार आफ्नो मूल दायित्वबाट च्यूत हुन सक्छ र अर्को द्वन्द्व र तनाव सिर्जना हुन सक्छ।”
भेटमा सहभागी वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार राष्ट्रपति पौडेलले असाधारण परिस्थितिमा आफूले भूमिका खेलेको बताएका थिए।