काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेन जी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन् ।
सिंहले चाक्सीबारीस्थित निजी निवासको अनुगमन एवं निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो माग गरे। उनले गणेशमान सिंहको घरलाई राजनीतिक व्यक्तिहरूले राजनीतिक मन्दिरको रूपमा लिने गरे पनि अहिले आगजनी र तोडफोडबाट नष्ट गरिएको प्रति चिन्ता व्यक्त गरे ।
नेता सिंहले जेन जी आन्दोलनले इतिहास मेटाउन उद्देश्य राखेको होइन, तर केही व्यक्तिहरूले जेन जीको आवरणमा अराधिक मनसाय बोकेर यस्तो क्रियाकलाप गरेको आरोप लगाए। उनले ०४६ को परिवर्तन ल्याउन चाक्सीबारीले खेलेको भूमिकालाई स्मरण गर्दै, अहिले त्यस ठाउँमा भएको आगजनी दुःखद भएको बताए। त्यसैगरी, किसुनजीको आश्रम, विराटनगरस्थित कोईराला निवास लगायत काँग्रेसका इमान्दार नेताहरू बस्ने घरहरू जलाइएको उल्लेख गर्दै उनले विधिको शासन स्थापित गर्न विधिअनुसार मात्र कारबाही हुनुपर्नेमा जोड दिए ।
सिंहले आगजनी र तोडफोडमा क्षति धेरै भएको र स्वच्छ व्यक्तिहरूलाई हतोत्साही गर्नका लागि घर जलाउने काम गरिएको बताए। आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरे। साथै उनले दलहरूलाई संस्थागत गरी समयको मागअनुसार अघि बढ्न आवश्यक रहेको र शुन्यताबाट केही प्राप्त नहुने पनि स्पष्ट पारे ।
नेता सिंहले भने, “धेरैले गणेशमानजीको घर राजनीतिक मन्दिरको रूपमा लिन्छन्, तर जेन जीले इतिहास मेटाउन चाहेको होइन। घुसपैठ भएको छ र विधिको शासनका लागि आगजनी र तोडफोड गर्नेहरूलाई प्रमाणसहित कारबाही गर्नुपर्छ।”