शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रास्वपाकाे नाम दुरुपयोग गरी धम्की दिने गतिविधि बढेको भन्दै ध्यानाकर्षण

बिहिबार, असोज २ २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो नाम दुरुपयोग गरी धम्की दिने गतिविधि बढेको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ ।

पार्टी प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनपछिको परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति तथा समूहले रास्वपा र यसको नेतृत्वसँग नजिक देखाउँदै उद्योगी, व्यवसायी, न्यायालय र उच्च पदस्थ कर्मचारीलाई फोन र मेसेजमार्फत डर, त्रास र धम्की दिएको सूचना प्राप्त भएको बताए ।

उनले यस्ता कार्यमा रास्वपाको कुनै संलग्नता नरहेको स्पष्ट पार्दै त्यसप्रति गम्भीर आपत्ति प्रकट गरे । साथै, राजनीतिक गतिविधिमात्र होइन, समाजमै भ्रम फैलाउने खालका यी कार्यबारे आवश्यक छानबिन र कानूनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।

रास्वपाले पार्टीको नाममा धम्की दिने जो कोहीमाथि कडा कारबाही गर्न माग गर्दै उद्योगी, व्यवसायी, कर्मचारी र सर्वसाधारणलाई यस्ता भ्रममा नपर्न अनुरोध गरेको छ ।