काठमाडौं । अनेक ज्ञानको सीप छ उनमा। कविताका हरफ कोर्छन्। गीतका अन्तरा जोड्छन्। राजनीतिमा हाम फाल्ने रहर पनि छ। समाज सेवालाई निरन्तरता दिने हरेक प्रहर छ।
अशोक शेरचन यो नाम मात्र होइन ब्रान्ड कसिलो बनाउने बेनाम सफलताको संज्ञा बन्न पुगेको छ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेरचनका सीप र ज्ञानका विविधता छन्। यसैकारण उनी ज्ञानी पनि हुन्।
थाकखोलाबाट झरेका थकाली प्राय आफ्नो परम्परागत पेशामा नै रमाउन चाहन्छन्। चिटिक्क परेका घर तथा साँस्कृतिक विविधता उनीहरुको परिचय हो । होटल व्यवसाय त्यसमा पनि स्वादिलो खाना खुवाउने भएकाले उनीहरुको आफ्नै शान र नाम पनि छ । भूपि शेरचनले देश विदेशमा चिनाएको मुस्ताङको थाकखोलालाई थकालीको पुस्तौनी थलोको रुपमा नै चिनिन्छ । होटल व्यवसायमा रमाउन नसक्ने थकाली समुदायका सदस्य लाहुर जान्छन् पैसा कमाउन । सामूहिक भावनाका कारण उनीहरुले विगत लामो समयदेखि आर्थिक रुपमा सबैलाई सबल बनाउने लक्ष्यसमेत राखे । केहीले यसलाई अवैध पनि माने । ग्रामीण अर्थतन्त्रको विकासमा त्यसले महत्वपूर्ण योगदान दियो । एकाधबाहेक धेरै जसो थकाली सम्पन्न छन्, आर्थिक रुपमा । लाहुरे हुने र होटल व्यवसाय गर्न छाडेर अन्य पेशामा रमाउन खोज्ने थकाली कमै भेटिन्छन् । ती मध्येका एक हुन्, शेरचन ।

लाहुरे हुने मोह त्याग्दा बैंक तथा वित्तीय संस्थाको प्रमुख हुने मेसो मिलेको हो, उनलाई। विसं २०२९ सालमा धौलागिरिको फेदमुनि बाग्लुङमा जन्मिएका शेरचनलाई शङ्करदेव क्याम्पसमा पढ्न आउनु नै सफलताको पहिलो खुट्किलो बन्न पुग्यो।
बागलुङ बजार आफैँमा राम्रो र सुन्दर परिचय बोकेको स्थानका रुपमा परिचित छ । उत्तरतिर देखिने धौलागिरि, अन्नपूर्ण र माछापुच्छेको छायाँले पनि धेरैलाई सफल बन्न प्रेरित गरिरहेको छ । शंकरदेवमा व्यवस्थापन विषय पढ्न बागलुङबाट काठमाडौँ हान्निएको ठिटो आज प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत बनेको छ। एक पटक होइन, सफलताको कसीमा लैजाने तेस्रो कार्यकालका निम्ति । उनी यसलाई सफलता मान्छन्।
राष्ट्र बैंकका उच्च तहका कर्मचारी थिए, गोविन्दबहादुर थापा । नाताले अशोकको सानी आमाका बुढा (सानाबा) । कालीगण्डकी तरेर काठमाडौँ झरेको युवालाई बैंकर बन्न सुझाउने र प्रेरणा दिने उनै थापा थिए। साथीभाइले पनि सुनाए, नेपाल बंगलादेश बैंकमा जागिर खुलेको छ । खाने कि नखाने एउटा प्रश्न भने मनमा द्विविधाको रुपमा उभिएको थियो । तलब थियो, मात्र रु चार हजार ३०० । यो कुरा सन् १९९५ को हो । परीक्षाका सबै चरण पूरा गरेर म बैंकिङ क्षेत्रमा प्रवेश गरेको हो ।
नरेन्द्र भट्टराईले तातेताते गराएर बैंकका ल्याएको शेरचन यतिखेर सक्षम र सवल बैंकरको रुपमा स्थापित छन्। सेवा सुविधाका हिसाबमा राम्रो नभएका कारण विदेश जाने सोच पनि बनाएका थिए। तर, कसलाई थाहा थियो र शेरचन अड्किएको बित्तिय संस्थाले फड्को मार्ला भनेर।
प्रभु फाइनान्सबाट शुरु भएको वित्तीय क्षेत्रको व्यवसाय यतिबेला प्रभु बैंकमा परिणत भएको छ। त्यसका पछाडि मेहनत, प्रतिबद्धता अनि लगनशीलताले काम गरेको छ। कुनै बेलाको सबल र सक्षम संस्थाको रुपमा चिनिएको ‘क’ वर्गको वाणिज्य बैंक किष्ट बैंक समस्यामा प¥यो। सम्हाल्न प्रभु समूह नै आइपुग्यो। यस्तै अर्को ग्राण्ड बैंक समस्याको भूमरीमा फस्यो, समाल्ने जिम्मेवारी प्रभु समूहले नै पायो । समस्यामा परेका बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभेर ठूलो संस्था बनाउने ‘हुटहुटी’ले नै काम गर्यो।
यी सबैको नेतृत्व शेरचनले नै गरेका थिए । समस्या भएकालाई लिँदा राम्रो गर्ने प्रेरणा मिल्दो रहेछ । राम्रा त राम्रा नै भए । नराम्रालाई राम्रो बनाउन सजिलो हुने सुनाएका उनी भन्छन्,‘बैंक तथा वित्तीय संस्था गाभ्दा सकार र नकार दुवै प्रकारको परिणाम प्राप्त हुँदो रहेछ ।’
निजी क्षेत्रको अग्रणी बैंकको रुपमा स्थापित प्रभु बैंकले डोल्पा, हुम्लालगायत कर्णालीमा समेत शाखा विस्तार गरेर राज्यको आँखाभन्दा पर परेका दूर्गम बस्तीलाई राजधानीसँग जोडेको मिठो सफलताको कथा रचिनुमा शेरचनको मिहेनत अथक छ।
‘हामी शहरमा मात्रै होइनौँ, ग्रामीण जो राज्यको आँखामा नपरेका स्थानमा समेत पुगेका छौँ । ग्राहक बैंकमा होइन, बैंक ग्राहकमा जानुपर्छ भन्ने मान्यताका साथ हामीले काम गरेका छौँ’, उनी भन्छन्।
शेरचन कवि पनि हुन्। उनका अनेक कविता प्रकाशित छन् भने गीत पनि कम्पोज भएर बजारमा आएका छन्। सृजनात्मक काममा सक्रिय रहेका उनी राजनीतिमा जाने सोचमा पनि छन्। बाग्लुङ वा देशका जुनसुकै स्थानबाट भए पनि राजनीति गर्ने इच्छा पलाएको उनले सुनाए।सामाजिक रुपमा परिवर्तन ल्याउने एउटा ठूलो माध्यम भनेकै राजनीति हो । राजनीति सबैं नीतिको पनि नीति हो । ‘म बैंकको उच्च तहमा पुगिसके । शून्यदेखि सिकेर आज यो तहसम्म आइपुग्दा धेरै कुरा जानेको छु । यो ज्ञान र अनुभवलाई देश सेवामा लगाउने सोच छ’ उनी भन्छन्।

कसैलाई नराम्रो नसोच्ने शेरचन मिडियाप्रेमी छन्। हरेक कालखण्डमा मिडिया बचाउने पात्र पनि हुन्। उनले यो पत्रकार, यसको पत्रकार यो ग्रुपको भन्ने विभेद कहिल्यै राखेनन्।
भूकम्प होस् या कोभिड, विभिन्न समयमा सञ्चार माध्यमलाई बचाउने व्यक्ति कहिलेकाँहि मिडिया कै पात्र बन्छन्। त्यसलाई उनी सहजै लिन्छन।
युवाले गर्ने गरेको रोजगारमूलक काम हरेक उद्योगको रुपमा उदाएकाहरुलाई प्रोत्साहन दिन्छन्। झापा भ्यूटार होस या अन्य ठाउँ सवैमा उनको सफल अन्दाज छ।
व्यक्तित्व विकास आर्थिक सम्मृद्धिको चिन्तन छ उनमा। राजावादी आन्दोलनमा भाटभटेनी लुट्नेलाई ‘रोजगारी नै दिनु मिनबहादुर दाइ’’ भनी उनले कविता पनि लेखेका थिए।
कला संगीतका पारखी, लगाव राख्ने उनी बैंकको जिम्मेवारीका हिसाबमा कुनाकाप्चाका शाखा र कर्मचारीको खाकालाई पनि उत्तिकै महत्वका साथ स्मरणमा राख्ने गर्छन्।
सानादेखि ठूला कर्मचारीमा भेदभाव छैन उनमा। कृषि तथा अन्य ठुला आयोजनमा लगानीले उनमा माटोप्रतिको भाव झल्केको प्रष्ट हुन्छ।
समयको ख्याल राख्ने शेरचन सुजवुझमा धेरै चासो र त्यसको खाका तयार पार्न माहिर छन्। गाँउले जीवनदेखि शहरीया जीवनसम्मका दिनदैन्यको ख्याल राख्छन्।
सामाजिक सञ्जालमा कमै रहन्छन्। तर सञ्जालमा रहँदा नवयूवा तथा सवै खाले व्यक्तिलाई केहि न केहि दिने सकारात्मक लय उनमा देखिन्छ।
सिक्ने र सिकाउने खालका वाक्य, लय र छन्दमा उनी कमी छैनन्। तराईका फाँटमा खडरीले धानखेत फुट्दा उनको मन पनि फुट्ने गर्दछ। चिन्ता लिने र त्यसको उपायमा पनि गडिन्छन्।
शेरचनमा सामाजिक उत्तरदायित्वमा दखल बढि छ। आइडिया स्टुडियो होस् या नयाँ स्पान्तरणलाई आत्मासाथ गर्ने उनको वानी सबैलाई मन पर्ने भित्र पर्दछ।
हक्की स्वभाव र बोलिको पक्का सीईओे आज अब्बल बैंक बनाउन सक्षम छन्। महत्वकांक्षामा त्यति विश्वास र त्यसको बाटो हिड्न नचाहने सीईओेको रुपमा उनको छविलाई सबैले उदाहरण पेश गर्ने प्रमाण पनि हो।
