हेटौंडा । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन्।
जेनजी आन्दोलन चर्किँदै जाँदा उनले भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए। आज उपसभामुख अप्सरा चापागाईंलाई सम्बोधन गर्दै पाठकले लिखित पत्र ह्वाट्सएपमार्फत पठाएका छन्।
राजीनामा पत्रमा पाठकले उल्लेख गरेका छन्, “गत भाद्र २३ गते जेनजीको भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनको क्रममा अस्वाभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरूले अनावश्यक सहादत प्राप्त गरेपछि म अत्यन्त भावविभ्रल भएँ। राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तरात्मामा लाग्यो र भाद्र २४ गते सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेँ। तर प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न अनुकूल भएन। आज नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा दिएको छु।”
यससँगै बागमती प्रदेश सभामुखको पद खाली भएको छ र आवश्यक प्रक्रिया पूरा गरी नयाँ सभामुख चयन हुने तयारी सुरु हुनेछ।
