शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आजदेखि बिपी राजमार्ग २४ सै घण्टा सञ्चालनमा

बुधबार, असोज १ २०८२

काठमाडौं । यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा रोक लगाइएको बिपी राजमार्ग आजदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिनुका साथै दसैं–तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक चौबीसै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । यात्रुको सहजतालाई ध्यानमा राखी स्वीकृत सडक सुरक्षा कार्ययोजनाबमोजिम सतर्कता अपनाउने समितिले जनाएको छ ।

कार्यालयले सोमबार जारी गरेको सार्वजनिक सूचनाअनुसार गत असार पहिलो सातादेखि रातिको समयमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको थियो । मनसुनका कारण बाढी–पहिरोको जोखिम बढेपछि धुलिखेल (काभ्रे) देखि नेपालथोक (सिन्धुली सीमा) सम्मको खण्डमा राति १२ घण्टासम्म सवारी सञ्चालन निषेध गरिएको थियो ।

यसअघि भदौ १६ गतेदेखि थप १५ दिन राति सवारी सञ्चालनमा रोक लगाइएको थियो । मनसुन अवधिभर निरन्तर जोखिम भएकाले असार ७ गतेदेखि नै रातिको समयमा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइँदै आएको थियो ।

मनसुन सकिएसँगै जोखिम कम भएकाले अब बिपी राजमार्गमा दिनरात अवरोधविनै सवारीसाधन सञ्चालन हुने भएको छ ।