काठमाडौं । भारतको हिमाचल प्रदेशको शिमलामा आज बिहान पिकअप गाडी दुर्घटना हुँदा ४ नेपालीसहित ५ जनाको मृत्यु भएको छ। मृतक नेपाली सबै सल्यान जिल्लाका रहेका छन्। दुर्घटनामा गाडीका चालक भारतीय नागरिक जोगिन्दर सिंह पनि मारिएका छन्।
प्रहरीका अनुसार, गाडीमा चालक बाहेक ६ जना नेपाली मजदुर यात्रा गरिरहेका थिए। पिकअप चालकको नियन्त्रण बाहिर गएर पल्टियो र सडकबाट करिब ५०–६० मिटर तल खस्दा दुर्घटना भएको हो। घटनास्थलमै ४ जनाको मृत्यु भएको थियो भने अर्का एक जनाको अस्पताल लैजाने क्रममा ज्यान गएको थियो।
दुर्घटनामा मृत्यु हुने नेपालीहरू डिल्लीबहादुर शाही, एकेन्द्र शाही, लक्ष्मी मल्ल शाही र राजेश विष्ट रहेका छन् ।
हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले दुर्घटनामा शोक व्यक्त गर्दै मृतक परिवारलाई सरकारबाट सम्भव भएसम्म सहयोग उपलब्ध गराउने र घाइतेहरूको उत्तम उपचार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।