बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

शीतलनिवासमा नवनियुक्त तीन मन्त्रीकाे शपथ

सोमबार, भाद्र ३० २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त मन्त्रीले आज शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीका अनुसार मन्त्रीहरूको शपथ आज बिहान ११:३० बजे शीतलनिवासमा हुने कार्यक्रम तय भएको छ ।

पहिलो चरणमा प्रधानमन्त्री कार्कीले अर्थ मन्त्रालयका लागि पूर्वअर्थसचिव रामेश्वर खनाल, गृह तथा कानुन मन्त्रालयका लागि अधिवक्ता ओमप्रकाश अर्याल र ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार मन्त्रालयका लागि नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई सिफारिस गरेकी छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई नियुक्त गरेका छन्, जसअनुसार पद तथा गोपनीयताको शपथ आजै हुने तयारी छ ।

शीतलनिवास परिसरमै टेन्टमा शपथ कार्यक्रम आयोजना गर्ने तयारी गरिएको बालुवाटार स्रोतले जनाएको छ ।

जेन–जी आन्दोलनपछि बनेको यस अन्तरिम सरकारलाई आगामी ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गराउने कार्यादेश दिइएको छ । सोहीअनुसार प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले फागुन २१ गते निर्वाचन मिति घोषणा गरिसकेका छन् ।