काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त बालबालिका र अभिभावकहरूलाई शुभकामना व्यक्त गरेका छन्।
नेपालले बालअधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनको सम्झनामा प्रत्येक वर्ष भदौ २९ गते बाल दिवस मनाइन्छ। यस वर्षको नारालाई ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ तोकिएको छ।
शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र विकासमा पर्याप्त लगानी हुनुपर्ने उल्लेख गर्दै संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको कार्यान्वयनमा सबै सरोकारवाला पक्ष एकताबद्ध हुनुपर्ने बताए।
उनले अझै पनि केही बालबालिका अधिकारबाट वञ्चित रहेको तथ्य चिन्ता जगाउने भएको उल्लेख गर्दै अमानवीय व्यवहार, हिंसा र दुव्र्यवहार अन्त्य गर्नु सबैको जिम्मेवारी भएको स्पष्ट पारे।
बालबालिकाको उज्ज्वल भविष्यका लागि निःशुल्क र गुणस्तरीय शिक्षा, पोषणयुक्त आहार, सुरक्षित खानेपानी, खोप र बालमैत्री स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए। साथै, घर, विद्यालय र समुदायमा सुरक्षित वातावरण सिर्जना गरी सबै समूहका बालबालिकालाई समान अवसर उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरे।
राष्ट्रपति पौडेलले बालबालिकाको संरक्षण, विकास र सहभागितामा सबै निकाय सक्रिय भई यस दिवसले थप प्रेरणा दिने विश्वास व्यक्त गरे।
