काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्। शुक्रबार राति पद तथा गोपनीयताको शपथ लिएपछि उनले आवश्यक छलफल गरी सानो आकारको मन्त्रिपरिषद् बनाउन लागेकी हुन्।
जेनजी आन्दोलनको म्यान्डेटअनुसार राजनीतिक दलभन्दा बाहिरबाट मन्त्री चयन गर्ने तयारी छ। पहिलो चरणमै कुलमान घिसिङ र वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालको नाम चर्चामा आएको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पनि आइतबार सीमित संख्यामा मन्त्री नियुक्त हुने जानकारी पाइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि राजनीतिक दलहरूले चुनावी सरकार गठनमा सहमति जनाएका थिए। सोही आधारमा पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। शपथग्रहणलगत्तै कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते आमनिर्वाचनको मिति तोकिएको छ।