शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री सुशीला कार्कीले आज सम्हाल्दै कार्यभार

आइतबार, भाद्र २९ २०८२

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की आज आइतबार सिंहदरबार प्रवेश गर्दैछिन्। बिहान ११ बजे उनले गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनस्थित कार्यकक्षमा औपचारिक रूपमा कार्यभार सम्हाल्नेछिन्।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएर बालुवाटार फर्किएकी कार्की शनिबारदेखि नै सक्रिय बनेकी थिइन्। शनिबार बिहान उनले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुको शव व्यवस्थापन, पीडित परिवारलाई राहत र क्षतिग्रस्त संरचनाबारे अधिकारीहरुसँग छलफल गरिन्।

त्यसपछि दिउँसो बालुवाटारमा मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह सचिव गोकर्णमणि दुवाडी र अर्थ सचिव घनश्याम उपाध्यायलगायतसँग बैठक गर्दै शान्ति–सुरक्षा, अर्थतन्त्र र सरकारी कोषको अवस्थाबारे जानकारी लिइन्। उनले कतै पनि सरकारविहीनताको अवस्था सिर्जना हुन नदिन निर्देशन दिइन्।

शनिबार नै उनले राष्ट्रिय ट्रमा सेन्टर र निजामती अस्पताललगायतका स्वास्थ्य संस्थामा पुगेर आन्दोलनमा घाइते भएकाहरुलाई भेटिन्। त्यहाँ उनले उपचाररत व्यक्तिहरूलाई ढाढस दिँदै आन्दोलनले दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्।