शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चन्द्र ढकाल लेख्छन् : हामीले अब खरानीबाट उठेर अघि बढ्नुपर्नेछ

शनिबार, भाद्र २८ २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (FNCCI) का अध्यक्ष चन्द्रप्रसाद ढकालले भदौ २३ र २४ गते जेन–जी प्रदर्शनका क्रममा निजी उद्योग तथा व्यापार संरचनामा भएको आगजनी र तोडफोडप्रति आफ्ना गहिराे भावना व्यक्त गरेका छन् ।

ढकालले सामाजिक सञ्जालमा लेख्दै आफूलाई टोलाइरहन मन लागेर पनि सार्वजनिक रूपमा भावनात्मक प्रतिक्रिया दिन नसक्ने अवस्था भएकाे बताएका हुन्। उनका अनुसार, “जब मैले एउटा सानो व्यवसाय सुरु गरेँ, कुनै ठूलो पुँजीले होइन, सानो बिँउ पुँजी र सपना लिएर हो। मेहनत, इमान्दारिता र निरन्तरता मार्फत सानो व्यावसायिक गोरेटो आज फराकिलो राजमार्ग जस्तो बनेको छ।”

उनले थप भनेका छन्, “हाम्रो व्यवसायले २० हजारभन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगार दिएको छ र अप्रत्यक्ष रूपमा लाखौँमा प्रभाव पारेको छ। प्रत्येक आयोजनामा स्थानीय साझेदारी र सेवा संस्कृति निर्माण गरिएको छ।”

ढकालले व्यवसाय विस्तारमा स्थानीय अपनत्व र सहभागितालाई प्राथमिकता दिइएको र विदेशबाट पठाइएको कमाइ घरमै सुरक्षित र औपचारिक माध्यमबाट पुर्याउने प्रयासले व्यवसायको सफलता सम्भव भएको बताए ।

तर भदौ २३–२४ को आन्दोलनमा उद्योग, व्यवसाय र निजी सम्पत्तिमा भएको क्षतिको उल्लेख गर्दै उनले भने, “देश बनाउने सपना लिएर सुरु गरेको यात्रामा अनपेक्षित क्षति हुँदा मन भारी भएको छ। तर उद्योगी–व्यवसायीको छाता संस्था अध्यक्षको जिम्मेवारीले सबैलाई हौसला दिनु पर्ने हुन्छ। हामीले अब खरानीबाटै उठेर अघि बढ्नुपर्नेछ।”

ढकालले विगतका संकट, जस्तै भूकम्प र कोरोना महामारीका बेला व्यवसायीहरूलाई हौसला दिने अनुभव सम्झँदै अहिले पनि उद्योग–व्यवसाय पुनः सञ्चालन र सुरक्षा सुनिश्चित गर्न उच्च जिम्मेवारी बहन गर्नुपर्ने बताए ।

उनको पोस्टले भदौ २३ र २४ गतेको प्रदर्शनमा निजी क्षेत्रले भोगेको ठूलो क्षति र उद्योग–व्यवसायीहरूको भावनात्मक संघर्षलाई उजागर गरेको छ।