झापा । जेनजी आन्दोलनका क्रममा झापाको बिर्तामोडमा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवकको मृत्यु भएको छ।
बिर्तामोड नगरपालिका–१० बस्दै आएका ३५ वर्षीय कमल भण्डारीको उपचारका क्रममा २५ भदौमा निधन भएको आज मात्र पुष्टि भएको हो।
पाँचथरको हिलिहाङ–२ स्थायी घर भएका भण्डारीलाई २४ भदौमा इलाका प्रहरी कार्यालय बिर्तामोडमा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेको थियो।
भण्डारी विएण्डसी अस्पतालमा उपचाररत थिए।
यसअघि भदौ २४ गते झडपकै क्रममा अर्जुनधारा नगरपालिका–८ का २८ वर्षीय युवा गोपाल सेढाईंको मृत्यु भएको थियो।
भण्डारीको निधनसँगै झापामा जेनजी आन्दोलनका क्रममा मृत्यु हुने युवाको संख्या दुई पुगेको छ।