काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसो लागू गरिएको कर्फ्यु हटाएको छ। तर आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म पुनः कर्फ्यु रहनेछ।
सेनाले दिउँसोको निषेधाज्ञा पनि खुकुलो बनाएको छ। आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्रै निषेधाज्ञा लागू हुनेछ। बिहान ११ बजेसम्म भने पूर्ण रूपमा खुला गरिएको थियो।
जेनजी आन्दोलनका क्रममा हिंसात्मक घटना भएपछि सुरक्षाका कारण कडा आदेश जारी गरिएको भए पनि क्रमशः खुकुलो बनाउँदै लगिएको हो। आदेश खुकुलो भएपछि उपत्यकामा जनजीवन सामान्य बन्दै गएको छ। अघिल्लो दिनको तुलनामा आज बिहान सडकमा सवारी साधनको चहलपहल बढी देखियो।
भदौ २३ गते सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको जेनजी युवाहरुको प्रदर्शन हिंसात्मक बनेपछि भदौ २४ गते राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको थियो। सुरुमा देशभर कर्फ्यु लगाइएको भए पनि अहिले काठमाडौं उपत्यकामा मात्र सीमित गरिएको छ। उपत्यका बाहिरका केही जिल्लामा भने जिल्ला प्रशासन कार्यालयमार्फत कर्फ्यु वा निषेधाज्ञा जारी छन्।
