काठमाडौं । भ्रष्टाचार र बेथितिविरुद्ध ‘जेन–जी’ युवाहरूले सुरु गरेको प्रदर्शनमाथि सरकारले गरेको दमनमा १९ जनाको ज्यान गएको छ ।
गृह मन्त्रालयका अनुसार राजधानी काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले कन्ट्रोल रुममा प्राप्त तथ्यांकअनुसार देशभर तीन सय ४७ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताए ।
स्वास्थ्य मन्त्रालयका अनुसार ट्रमा सेन्टरमा मृत्यु भएका आठमध्ये ६ जनाको पहिचान भएको छ । तीमध्ये बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धिबहादुर तामाङ, काठमाडौं वनस्थलीका २६ वर्षीय ईश्वरबहादुर अधिकारी, २८ वर्षीय गौरव जोशी, १९ वर्षीय श्रीराम चौलागाई र २४ वर्षीय सौरभ कटुवाल रहेका छन् । अन्य अस्पतालहरू—सिभिल, एभरेस्ट, केएमसी, त्रिवि शिक्षण अस्पताल र धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
घाइतेहरूको उपचार सरकारी तथा निजी गरी ११ अस्पतालमा भइरहेको छ । सबैभन्दा बढी सिभिल अस्पतालमा एक सय जना घाइते उपचाररत छन् । ट्रमा सेन्टरमा ५९, केएमसी अस्पतालमा ३७, एभरेस्ट अस्पतालमा १०२, त्रिवि शिक्षण अस्पतालमा १८, वीर अस्पतालमा ६, पाटन अस्पतालमा ४ गम्भीरसहितका घाइतेको उपचार भइरहेको छ । पोखरा, विराटनगर र झापाका अस्पतालमा पनि घाइतेहरू भर्ना भएका छन् ।
सरकारको दमनपछि राजधानीका अस्पतालहरूमा राति अबेरसम्म अभिभावकहरू आफ्ना सन्तानको अवस्थाबारे जानकारी लिने क्रम जारी थियो । आन्दोलन शान्तिपूर्ण ढंगले भइरहेको अवस्थामा सरकारले गोली प्रहार गरेको भन्दै अभिभावक र सर्वसाधारणले कडा शब्दमा निन्दा गरेका छन् ।
यसअघि राजतन्त्रकालीन जनआन्दोलनमा समेत देशभर १९ जनाको ज्यान गएको थियो । तर, सोमबार काठमाडौं बानेश्वरमा जेन–जीको पहिलो दिनकै प्रदर्शनमा त्यति नै संख्यामा मृत्यु भएको छ, जसले आन्दोलनलाई नेपालकै इतिहासमा पहिलो दिनमै सबैभन्दा रक्तपातपूर्ण बनाएको छ ।