शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जापानीज इन्सेफ्लाइटिसबाट तीनको मृत्यु, नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि

सोमबार, भाद्र २३ २०८२

नवलपरासी  । बर्दघाट सुस्तापश्चिम नवलपरासीमा जापानीज इन्सेफ्लाइटिस (JE) सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ भने नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख भेषराज शर्माका अनुसार मृत्यु भएका तीनमध्ये बर्दघाट नगरपालिका–१२ का ७४ वर्षीय पुरुष, सरावल गाउँपालिका–१ का ६२ वर्षीय पुरुष र प्रतापापुर गाउँपालिका–१ का ५० वर्षीय पुरुष हुन्। ती सबैले JE विरुद्धको खोप लगाएका थिएनन्।

जिल्लामा डेङ्गी सङ्क्रमण पनि बढिरहेको छ। लामखुट्टेको टोकाइबाट नौ जनामा सङ्क्रमण पुष्टि भएको र सरसफाइ नहुँदा सङ्क्रमण तीव्र गतिमा फैलिन सक्ने स्वास्थ्य अधिकारीहरूले सचेत गराएका छन्।

स्वास्थ्य कार्यालयले स्थानीय तहसहित जनचेतना फैलाउँदै लामखुट्टे नियन्त्रण र डेङ्गी रोकथामका कार्यक्रम सञ्चालन गरिरहेको छ। JE र डेङ्गी रोग, सङ्क्रमित जनावर वा व्यक्तिबाट एडिस एजिप्टी र क्युलेक्स प्रजातिका लामखुट्टे मार्फत मानिसमा फैलिन्छन्।

डाक्टर नुरुल होदाका अनुसार डेङ्गीको लक्षणमा उच्च ज्वरो, टाउको दुखाइ, आँखा पछाडि दुखाइ, स्नायु र मांसपेशी दुखाइ, भोक नलाग्ने जस्ता लक्षण देखिन्छ। समयमै उपचार नपाएमा मृत्यु पनि हुन सक्छ।

जापानीज इन्सेफ्लाइटिस मस्तिष्कमा असर गर्ने गम्भीर रोग हो। क्युलेक्स लामखुट्टेको टोकाइबाट सर्ने यो रोगले मस्तिष्क सुन्निने, पक्षाघात, रिङटा लाग्ने, बेहोस हुने र मृत्यु समेत हुनसक्ने डाक्टर होदाले बताए।