काठमाडौँ । स्थापनाको ७५ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नो पारम्परिक पार्टी झण्डामा ऐतिहासिक परिवर्तन गरेको छ।
आइतबार सम्पन्न दोस्रो विधान महाधिवेशनले सेतो रंगको हसिया–हथौडालाई सुनौलो रंगमा परिवर्तन गर्ने निर्णय पारित गरेको हो।
यसअन्तर्गत, अब एमालेको झण्डामा रातो पृष्ठभूमिमा सुनौलो हसिया–हथौडा रहनेछ। यस परिवर्तनले नेपालका अन्य कम्युनिस्ट पार्टीहरूको झण्डाबाट एमालेको झण्डालाई पृथक बनाउने अपेक्षा गरिएको छ।
एमाले नेतृत्वले यस रंग परिवर्तनलाई “नयाँ युगसँग मेल खाने, आधुनिक र गौरवपूर्ण परिवर्तन” को रूपमा व्याख्या गरेको छ। पार्टीका नेताहरूका अनुसार, मात्र रंग परिवर्तन नभई यो राजनीतिक यात्राको नयाँ अध्यायको प्रतीक हो। विश्वभर कम्युनिस्ट आन्दोलन आधुनिक हुँदै जाँदै छ; त्यसक्रममा एमालेले पनि आफ्नो प्रतीकलाई समसामयिक बनाएको हो। सेतो रंगले परम्परा दर्शाउन सक्छ, तर सुनौलो रंगले उज्यालो, समृद्धि र गौरवको संकेत गर्छ भन्ने नेताहरूको मत छ।