शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रविधिमैत्री र नागरिकमैत्री सेवामा जोड दिनुपर्ने : मन्त्री न्यौपाने

आइतबार, भाद्र २२ २०८२

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगतवी न्यौपानेले निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो सेवा प्रणालीमार्फत छिटो, सरल र पारदर्शी सेवा दिनुपर्ने आवश्यकता औंल्याएकी छन् ।

२२ औं निजामती सेवा दिवस–२०८२ को अवसरमा मन्त्री न्यौपानेले विश्व तीव्र गतिमा रूपान्तरण भइरहेका कारण डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता, बिग डाटा र नवप्रवर्तनशील उपायहरूको उपयोगमार्फत सेवाप्रवाहलाई प्रभावकारी बनाउनुपर्ने बताइन् ।

व्यावसायिक र तटस्थ निजामती सेवाको अभावमा कुनै पनि राष्ट्रको शासन पद्धति प्रभावकारी बन्न नसक्ने उल्लेख गर्दै उनले नीति निर्माण, कार्यान्वयन, सेवा प्रवाह र विकास व्यवस्थापनमा निजामती सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्मरण गरिन् ।

‘‘सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि अपरिहार्य हुन्छ,’’ उनले भनिन्, ‘‘त्यसैले प्रविधिमैत्री र छरितो प्रणालीमार्फत नागरिकलाई छिटो, सरल र पारदर्शी सेवा दिनु अनिवार्य बनेको छ ।’’

निजामती सेवामा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि, व्यावसायिकता, निरन्तर सिकाइ र सुधारमार्फत नागरिकको विश्वास जित्न सकिने विश्वास व्यक्त गर्दै मन्त्री न्यौपानेले राज्यप्रति जिम्मेवार, सदाचारयुक्त, परिणाममुखी र सिर्जनशील प्रशासनिक संरचना निर्माण गर्नु आजको आवश्यकता भएको बताइन् ।

उनले निजामती सेवा दिवसले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई देश र जनताको सेवामा थप प्रोत्साहित गर्ने विश्वास व्यक्त गरिन् ।