काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार सुनसरीमा भएको पार्टी कार्यक्रममा दिएको सम्बोधनबारे फेसबुकमा पोस्ट गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले त्यसमा ब्यङ्ग्यात्मक कमेन्ट गरेका छन् ।
देउवाले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा भएको कार्यक्रममा सम्बोधन गरेको तस्बिर तथा विवरण फेसबुकमार्फत सार्वजनिक गरेका थिए । सोही पोस्टमा बालेनले लेखेका छन्, “यो पोस्ट कुन भीपीएनबाट हो? नेपाली हो कि विदेशी हो? साह्रै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त।”
उनको कमेन्ट सामाजिक सञ्जालमा तत्कालै चर्चामा आएको छ ।
कांग्रेस मुख्य साझेदार रहेको केपी शर्मा ओली नेतृत्वको सरकारले दर्ता नभएसम्म सामाजिक सञ्जाल फेसबुकलगायत प्लेटफर्म बन्द गर्ने निर्णय गरेपछि बालेनको उक्त कमेन्ट आएको बुझिएको छ ।
यसअघि शनिबार बिराटनगर विमानस्थलमा उत्रिएपछि पत्रकारले सो विषयमा सोध्दा देउवाले “बन्द गर भनेको होइन, दर्तामा आउन भनेको हो” भन्ने प्रतिक्रिया दिएका थिए । तर, पार्टी कार्यक्रममा गरेको सम्बोधनका तस्बिर भने बेलुकै फेसबुकमा अपलोड गरेका थिए ।