काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले सरकारले फेसबुक, एक्स, युट्युबसहित सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धप्रति गम्भीर आपत्ति जनाएका छन् ।
उनीहरूले दर्ता नभएको बहानामा गरिएको यो कदम प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि ठाडो आघात भएको ठहर गरेका छन् ।
प्रेस स्वतन्त्रता लोकतन्त्रको प्राणवायु भएको उल्लेख गर्दै उनीहरूले नेपालको संविधानले धारा १७, १९ र २७ मार्फत प्रेस स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकलाई प्रत्याभूत गरेको स्मरण गराएका छन् । यस्ता संवैधानिक अधिकारलाई कुण्ठित गर्ने कार्य लोकतान्त्रिक मान्यताविपरीत भएको भन्दै तत्काल प्रतिबन्ध हटाउन माग गरिएको छ ।
पूर्वपदाधिकारीहरूले सामाजिक सञ्जाल बन्द गर्नुले लाखौं प्रवासी नेपाली र परिवारबीचको सम्पर्क विच्छेद भएको, बालबालिकाको सिकाइ प्रभावित भएको र हजारौं व्यक्तिको रोजीरोटी गुमेको तथ्य उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल नियमन आवश्यक भए संसदमार्फत कानुन बनाएर व्यवस्थित र पारदर्शी ढंगले गर्न सकिने भन्दै उनीहरूले पूर्ण प्रतिबन्धलाई अलोकतान्त्रिक कदम ठहर गरेका छन् । साथै, विज्ञको सहभागितामा दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गरिएको छ ।
यसैबीच, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि आइतबार (भदौ २२) दिउँसो २ बजे माइतिघर मण्डलामा विरोध प्रदर्शन गर्ने आह्वान गरिएको छ । आयोजकहरूले सम्पूर्ण पत्रकार, सरोकारवाला र नागरिक स्वतन्त्रताका पक्षधरहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।