शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेको विधान महाधिवेशन : संगठन र कार्यशैलीमा ठूला परिवर्तन प्रस्ताव

शनिबार, भाद्र २१ २०८२

काठमाडौं । नेकपा (एमाले)ले आगामी दोस्रो विधान महाधिवेशनमा पार्टीको वैचारिक, संगठनात्मक र कार्यशैलीगत रूपान्तरणका लागि विस्तृत संशोधन प्रस्ताव पेस गरेको छ ।

प्रस्तावअनुसार पार्टीले ‘नेपाली विशेषताको समाजवाद’लाई मार्गदर्शक अवधारणा बनाउँदै समाजवाद निर्माणलाई दीर्घकालीन कार्यदिशा बनाउने उल्लेख गरेको छ । यसअघि २०६८ सालको नवौं महाधिवेशनले समाजवादलाई रणनीतिक लक्ष्यका रूपमा तय गरे पनि अहिले संविधानअनुसार यसलाई अझ स्पष्ट र कार्यान्वयनयोग्य बनाउन विधानमै प्रावधान थप्न लागिएको हो ।

संशोधन प्रस्तावमा सदस्यता प्रणालीलाई परिमार्जन गर्दै ‘साधारण सदस्य’ र ‘सक्रिय सदस्य’ गरी दुई तहमा विभाजन गर्ने भनिएको छ । साधारण सदस्यका लागि आधारभूत आचारसंहिता र सदस्यता शुल्क अनिवार्य हुनेछ भने सक्रिय सदस्यता पाउन कम्तीमा दुई वर्षको राजनीतिक अभ्यास र योगदान आवश्यक हुने व्यवस्था रहनेछ । नेतृत्व तहमा सहभागी हुने अवसर भने सक्रिय सदस्यलाई मात्र हुनेछ ।

हालको १५९ सदस्यीय केन्द्रीय समितिलाई २२५ सदस्यीय बनाउने सिफारिस गरिएको छ । त्यस्तै, पोलिटब्युरो र स्थायी समितिको संख्यामा वृद्धि गरी कार्यदक्षता र प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव छ । निर्वाचनमा उम्मेदवारी दिने वा चयन हुने अधिकार पनि सक्रिय सदस्यलाई मात्र दिने व्यवस्था गर्न सिफारिस गरिएको छ ।

पार्टीसँग आबद्ध युवा, विद्यार्थी, महिला, श्रमिक, किसानलगायत जनसंगठनलाई सुदृढ बनाउन विधानमै छुट्टै व्यवस्था गर्ने तयारी छ । यी संगठनहरूले समाजवाद निर्माणको आधार तयार गर्ने जिम्मेवारी लिने भनिएको छ । साथै, पार्टी र जनसंगठनका सबै तहमा आय–व्यय पारदर्शी बनाउन, अडिट प्रणालीलाई संस्थागत गर्न र अनियमितता रोक्न विशेष प्रावधान राख्ने प्रस्ताव गरिएको छ ।

संशोधन प्रस्तावमा पदाधिकारी र सदस्यका लागि आचारसंहिता कडाइका साथ लागू गर्ने उल्लेख छ । भ्रष्ट्राचार, अनुशासन भंग वा व्यक्तिगत स्वार्थमा लाग्ने कार्यमा कडा कारबाही गर्ने व्यवस्था विधानमै समावेश गरिनेछ ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पार्टीको नीति र निर्देशनअनुसार काम गर्नुपर्ने र पार्टी संगठनले उनीहरूलाई समर्थन तथा निगरानी गर्ने व्यवस्था राखिएको छ ।

प्रस्तावले पार्टीको वैचारिक आधार ‘जनताको बहुदलीय जनवाद’ बाट अघि बढाउँदै अहिलेको सन्दर्भमा समाजवाद निर्माणको चरणमा प्रवेश गर्नुपर्नेमा जोड दिएको छ । यसका लागि नेपाली समाजको विशेषता, संस्कार, भौगोलिक अवस्था र ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राखी ‘नेपाली विशेषताको समाजवाद’लाई मार्गदर्शक बनाइने भनिएको छ ।

एमालेको दोस्रो विधान महाधिवेशन आगामी दिनमा हुने तय भएको छ । यस महाधिवेशनबाट पारित हुने निर्णयले पार्टीको संगठनात्मक संरचना, कार्यशैली र वैचारिक आधारमा ठूला परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।