काठमाडौँ । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले सेवाशुश्रूषालाई केवल पेसा वा जागिरको रूपमा मात्र नभई मानवीय सेवाका रूपमा पनि हेर्नुपर्नेमा जोड दिएकी छन् ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री राणाले भनिन्, “बाल्यकालदेखि वृद्धावस्थासम्मका सेवाशुश्रूषासम्बन्धी क्रियाकलापलाई केवल पेसा वा जागिरका रूपमा मात्र हेरिनु हुँदैन, यो मानवीय सेवा पनि हो।”
उनले घर, समुदाय र राष्ट्रिय स्तरमा सेवाशुश्रूषासम्बन्धी गतिविधिको मूल्याङ्कन कम भएको र अर्थतन्त्रमा यसको योगदानबारे पर्याप्त खोजी नभएको उल्लेख गरिन्। मन्त्री राणाका अनुसार यस क्षेत्रको योगदान कृषिको हाराहारीमा छ, तर यसको भार असमान रूपमा प्रायः महिलामाथि परेको छ, जसले अर्थतन्त्र, राजनीति र सार्वजनिक जीवनमा महिलाको सहभागितालाई अवरुद्ध गरेको छ।
नेपालले परिवर्तनको आवश्यकतालाई पहिचान गरिसकेको उल्लेख गर्दै उनले १६औँ योजनामा पहिलोपटक सेवाशुश्रूषालाई विकास दृष्टिकोणको केन्द्रमा राखिएको जानकारी दिनुभयो।
उनले सेवाशुश्रूषामा हुने लगानीलाई खर्चको रूपमा नभई उच्च प्रतिफल दिने लगानीका रूपमा लिनुपर्नेमा जोड दिँदै स्वास्थ्य र शिक्षा क्षेत्रमा यस क्षेत्रको अभाव पूरा गर्न सके लाखौँ रोजगारी सिर्जना हुने र त्यसको कम्तीमा ६० प्रतिशत लाभ महिलाले पाउने अध्ययनले देखाएको स्मरण गराइन्।
दशकौँदेखि सुरक्षित मातृत्व र लैङ्गिक समानताका लागि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै मन्त्री राणाले त्यसकै परिणामस्वरूप नेपालमा मातृ तथा शिशु मृत्युदर घटाउने र दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा प्रगति भइरहेको बताइन्