शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सिन्धुलीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

शुक्रबार, भाद्र २० २०८२

सिन्धुली । कमलामाई नगरपालिका–९ बथानचौडी नजिक शुक्रबार बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार विराटनगरबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश–०१–००६ ख ९६४४ नम्बरको ट्रकले बिहान ६ बजे दुई पैदल यात्रीलाई ठक्कर दिएको हो।

दुर्घटनामा कमलामाई–९ का ४६ वर्षीय भुवन भुजेल गम्भीर घाइते भएका थिए। उपचारका लागि बर्दिबासस्थित शुभ–स्वस्तिक अस्पताल पुर्‍याइएपछि उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

त्यस्तै, सोही स्थानका ६४ वर्षीय टेकप्रसाद दाहाल घाइते भएका छन्। उनको टाउको र छातीमा चोट लागेकाले बर्दिबासकै शुभ–स्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ठक्करपछि ट्रक अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किँदा घरमा क्षति पुगेको छ भने घरमा पालेका करिब २० वटा कुखुरा मरेका छन्।

घटनास्थलमा इलाका प्रहरी कार्यालय भिमानका प्रहरी निरीक्षक टंकबहादुर कार्कीको कमाण्डमा प्रहरी टोली खटिएको थियो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।