काठमाडौं । नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय गरेपछि विभिन्न कम्पनीहरू एकपछि अर्को गर्दै सम्पर्कमा आउन थालेका छन्।
बिहीबार सरकारले मेटा अन्तर्गतका फेसबुकसहित २६ वटा प्लेटफर्म नेपालमा बन्द गर्ने घोषणा गरेको थियो। सो निर्णय सार्वजनिक भएको केही घण्टामै मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग दर्ता प्रक्रियाबारे जानकारी लिएका थिए।
मन्त्रालय स्रोतका अनुसार अमेरिकी अर्बपति एलन मस्कको स्वामित्वमा रहेको एक्स (ट्विटर) ले समेत नेपाल सरकारसँग दर्ता प्रक्रियाका लागि सम्पर्क गरेको छ।
यसअघि दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले सरकारको निर्देशनअनुसार फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल बन्द गर्न थालेका छन्। अहिले धेरै प्रयोगकर्ताले यी प्लेटफर्ममा पहुँच पाउन सकेका छैनन्।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सर्वोच्च अदालतको आदेश, प्राधिकरणको पत्र, मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार लागू गरिएको हो।