शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री ओलीको चीन भ्रमणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढायो : परराष्ट्र मन्त्रालय

बिहिबार, भाद्र १९ २०८२

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउन उल्लेखनीय योगदान पुर्‍याएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा पाँचदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीको भ्रमण उपलब्धिबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए।

भ्रमणको प्रमुख उद्देश्य चीनको थियानजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा नेपालको सहभागिता विस्तार गरेका थिए। प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्दै बहुपक्षीयताको सुदृढीकरण, क्षेत्रीय सहयोग प्रवर्द्धन र नेपाललाई पूर्ण सदस्य बनाउन आग्रह गरे।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गरी सम्बन्ध सुदृढीकरण, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाको शीघ्र कार्यान्वयन, रासायनिक मल तथा पेट्रोलियम अन्वेषण, जलवायु परिवर्तनसँग जुध्ने क्षमता अभिवृद्धि र जनस्तरको सम्बन्ध मजबुत बनाउन सहयोगको अनुरोध गरे।

प्रधानमन्त्री ओलीले भारत–चीनबीच हालै भएको लिपुलेकमार्फत सीमा व्यापार सम्बन्धी समझदारीप्रति आपत्ति जनाउँदै उक्त समझदारी कार्यान्वयन नगर्न चीनलाई आग्रह गर्नुभएको सचिव राईले जानकारी दिए।

यसै क्रममा, ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित विभिन्न मुलुकका राष्ट्रप्रमुखसँग छुट्टाछुट्टै भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विषयमा विचारविमर्श गरे। साथै, थियानजिनस्थित धान पकेट क्षेत्र तथा स्मारक स्थलहरूको पनि भ्रमण गरे।

भ्रमणको अन्त्यमा प्रधानमन्त्री ओलीले बेइजिङमा चीनका उपराष्ट्रपतिसँग भेटवार्ता गर्नुका साथै ८०औँ विजयोत्सव तथा विशेष सैनिक परेडमा सहभागिता जनाएका थिए ।

प्रधानमन्त्री ओलीसँगै भ्रमण टोलीमा धर्मपत्नी राधिका शाक्य, मन्त्रीहरू, सांसदहरू, पूर्वउपप्रधानमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी तथा चीनस्थित नेपाली राजदूत सहभागी थिए।