काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन नगरिएको भन्दै दुवै दलले विरोधस्वरूप बैठक छाडेका हुन्।
सभा सुरु भएपछि रास्वपाका सांसद हरि ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग दलीयकरण भएको आरोप लगाउँदै छानबिन नगरेको भन्दै आपत्ति जनाए। त्यसपछि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जुम्लाको स्याउ किन्ने वातावरण बनाउन माग गरेका थिए।
दुवै दलका सांसदहरूले आफ्ना भनाइ राखेपछि बैठक बहिष्कार गर्दै बाहिरिएका छन्। रास्वपा र राप्रपा गत जेठ १३ गतेदेखि नै भिजिट भिसा सेटिङ प्रकरणमा विशेष छानबिनको माग गर्दै विरोध गर्दै आएका छन्।