काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि राष्ट्रियसभाबाट भएको संशोधनबारे विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित ‘जलस्रोत विधेयक’ टेबुल गर्नेछन् । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
बैठक प्रारम्भमा सभामुखले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम पनि छ ।
यसैबीच, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्दैछ । सो बैठकमा आव २०८१/८२ को वार्षिक प्रतिवेदन तथा आव २०८२/८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल हुने कार्यक्रम तय गरिएको छ ।