काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा आसन्न चाडपर्वमा अवरुद्ध हुन नदिन पुनः मर्मत कार्य सुरु हुने भएको छ। भक्तपुर डिभिजन सडक कार्यालयका अनुसार क्षतिग्रस्त सडक दुई हप्ताभित्र पुनः मर्मत गरिसक्ने लक्ष्य राखिएको छ।
सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार, वर्षाका समयमा बाढी र पहिरोबाट हुने क्षति रोक्न ग्यावियन जालीको पर्खाल बनाइएको छ र ठूलो बोल्डर तथा सडक मर्मतका उपकरण तयारी अवस्थामा राखिएको छ। गत असोजको बाढीपछि बिपी राजमार्गको २९ किलोमिटर सडक चार खण्डमा पुनर्निर्माण हुने प्रक्रिया अघि बढेको छ।
हाल दैनिक करिब तीन हजार सवारीसाधन आवतजावत गर्ने राजमार्गमा भदौ १६ गतेदेखि १५ दिनका लागि साँझ ५ः०० देखि बिहान ५ः०० बजे सम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। स्थायी निर्माण मनसुन बाहिरिएपछि सुरु हुनेछ। जापान सरकारको अनुदान सहयोगमा सुरु भएको बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास, १६० किमी) २०७२ असारमा हस्तान्तरण गरिएको थियो र यो काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्ग हो।