काठमाडौं। शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने भएका छन्।
बेइजिङमा उनले चीनका उपराष्ट्रपति हान चङ्गसँग भेटवार्ता गर्ने र उपराष्ट्रपतिद्वारा आयोजित रात्रिभोजमा पनि नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ।
यसअघि थियानजिनमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चीनफिङसँग द्विपक्षीय भेट गरिसकेका छन्।
भ्रमणको अन्तिम कार्यक्रमअन्तर्गत प्रधानमन्त्री ओलीसहितको नेपाली टोली यही भदौ १८ गते बेइजिङमा चीन सरकारद्वारा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको प्रतिरोधी युद्धमा विजय प्राप्त भएको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुनेछ। सोही दिन प्रतिनिधिमण्डल स्वदेश फर्कने कार्यक्रम रहेको छ।