काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले भारत–चीन सम्बन्धलाई लक्षित गर्दै सुझाव दिएका छन् । दुई देशको मित्रता राम्रो हो, तर यसले अरूको “जंगल” नफाडोस्।
सोमबार सामाजिक सञ्जालमा लेख्दै भट्टराईले भनेका छन्- “हात्ती र ड्रैगन मिल्नु राम्रो हो। हामी पनि स्वागत गर्दछौँ। सवाल दुई मिलेर अर्काको जंगल नफाडुन भन्ने हो।”
उनको टिप्पणी भारत र चीनबीचको बढ्दो मित्रताप्रति संकेत स्वरूप आएको हो। चीन भ्रमणमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए।
भेटमा सी–मोदीले सीमा विवाद, द्विपक्षीय सम्बन्ध सुधार लगायत विषयमा छलफल गरेका थिए।
पछिल्लो समय नेपालको नक्सामा समेत समेटिएको भूमिमार्फत व्यापार अघि बढाउनेबारे दुई शक्तिशाली छिमेकी मुलुक भारत र चीनले फेरि सहमति गरेका छन् । नेपालको भूमि प्रयोग गरी लेपुलेकपासबाट सडक सञ्जालमार्फत दुई देशले व्यापार गर्ने गरी सम्झौता गरेका छन् । जसको नेपालमा तीव्र विरोध भइरहेको छ ।
नेपालको भूमि लिपुलेक हुँदै दुईदेशीय व्यापार अघि बढाउनेबारे भारत र चीनबीचको सहमतिलाई लिएर चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आपक्तिसमेत जनाइसकेका छन् । जसले नेपालको क्षेत्रीय दाबी र कूटनीतिक सम्बन्धमा नयाँ विवाद उत्पन्न गरेको छ।