शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एकीकृत समाजवादीमा आन्तरिक विवाद चर्किँदै, माधव नेपालमाथि नेतृत्व छाड्न दबाब बढ्दै

सोमबार, भाद्र १६ २०८२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा नेता झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालबीच जारी विवादले पार्टीमा गहिरो तरंग सिर्जना गरेको छ। साउन तेस्रो साता खनालले पार्टी विभाजनको औचित्य पुष्टि हुन नसकेको अभिव्यक्ति दिएको विरोधमा अध्यक्ष नेपाल आक्रोशित भएको र दुवै नेताबीच आरोप-प्रत्यारोपको अवस्था देखिएको छ।

साउन १५ गतेको अन्तर्वार्तामा खनालले एमालेबाट विभाजन गर्नु गलत भएको टिप्पणी गरेका थिए। त्यसपछि अध्यक्ष नेपालले खनाललाई पार्टी छाडेर जान चुनौती दिँदा खनाल थप आक्रोशित भएका थिए। खनालले भने आफूले पार्टी छाड्ने होइन, तर अध्यक्ष नेपालले नेतृत्व छाड्नुपर्ने बताएका छन्।

पार्टीभित्रको पछिल्लो संघर्ष अध्यक्ष नेपालमाथि पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेपछि सुरु भएको हो। खनालले लगातार नेतृत्वको दायित्व र नीतिगत कमजोरीका विषय उठाउँदै आएका छन्। महाधिवेशनको एक वर्ष बित्दा पनि समाजवादी कार्यक्रम र नीति स्पष्ट नभएको र पुनर्गठन नभएको खनालको आरोप छ।

पार्टी विभाजनदेखि वर्तमान परिस्थितिसम्म खनालसँग मुकुन्द न्यौपाने, केदार न्यौपाने, घनश्याम भुसाल र रामकुमारी झाँक्रीले समर्थन दिएका थिए। तर खनालको केही कदमपछि उनीहरूमध्ये कतिपयले साथ छोडिसकेका छन्, जसमध्ये मुकुन्द र केदार न्यौपाने पूर्व एमाले फर्किसकेका छन्।

युवा नेतृ झाँक्रीले पनि नेतृत्वमाथि प्रश्न उठाउँदै आइरहेकी छन्। भदौ २ गते पार्टी चार वर्ष पूरा भए पनि एमालेबाट फुटेको औचित्य पुष्टि हुन सकेको छैन। मतभेदका कारण पार्टीका अन्य तहमा समानान्तर कमिटीको अभ्यास देखिन थालेको छ, जस्तै अनेरास्ववियूको समानान्तर नेतृत्व।

विश्लेषकहरूको मत अनुसार, पार्टीभित्र शीर्ष नेताहरूबीचको विश्वास संकटले संगठनात्मक स्थायित्व चुनौतीपूर्ण बनाएको छ। यदि तत्काल समाधान भएन भने यो विवाद दीर्घकालीन विभाजनको कारण बन्न सक्ने खतरा रहेको छ। एकीकृत समाजवादीमा नेतृत्वको फरक अडान नै पार्टीको अलमलको मुख्य कारण बनेको देखिन्छ।

एकीकृत समाजवादीमा आन्तरिक विवाद गहिरिँदै गएपछि सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्षीय नेताहरू छुट्टै भेला बसेका छन्।

पार्टीको आगामी केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकहरूको एजेण्डा तय गर्न छलफल भईरहेको नेताहरूले दाबी गरेका छन्।

भेलामा सहभागी एक नेताका अनुसार अध्यक्ष माधवकुमार नेपालको कार्यशैली निरंकुश बनेको र पार्टीमा नेपालको पक्षमा नलागेका नेता वा कार्यकर्तालाई जिम्मेवारीविहीन बनाउने, भएको जिम्मेवारी पनि खोस्ने घटना बढेपछि यस्तो भेलाको आयोजना गरिएको हो।

गतसाता तोकिएको बैठक अध्यक्ष नेपालले मनोमानीपूर्वक सार्नुभयो र वैचारिक तथा कार्यशैलीगत बहसलाई निषेध गरेपछि अगामी रणनीति बनाउन भेला आवश्यक भएको बताइएको छ। भेलाको अगुवाइ पूर्वमन्त्री तथा पार्टीका पूर्वसचिव जीवनराम श्रेष्ठले गर्नुभएको थियो।

उक्त भेलामा उपाध्यक्ष जयन्ती राई, उपमहासचिव गरिमा शाह, पूर्वमन्त्री तथा स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्युरो सदस्य लक्ष्मण लम्साल, युवा संघका पूर्वअध्यक्ष नरेशकुमार शाही, केन्द्रीय सदस्य सुशील भट्टराई, मनाकुमारी साउद, साथै युवा नेत्री रामकुमारी झाँक्री, डा। विजय पौडेल, केदार सञ्जेल, धर्मराज निरौला, हिरेन्द्र शाहलगायतको उपस्थिति रहेको दाबी गरिएको छ।

नेताहरूले छलफललाई अनौपचारिक बताउँदै आए पनि अध्यक्ष नेपाल र झलनाथ खनालबीचको असमझदारी बढेसँगै गुटगत भेला पार्टीभित्रको विवादलाई थप तीव्र बनाएको देखिन्छ। पार्टीका शीर्ष नेताहरूबीच सार्वजनिक रूपमा एकअर्काका अभिव्यक्तिको खण्डन गर्ने क्रम पनि रोकिएको छैन।