ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र समृद्धि सम्भव हुने दाबी गरेका छन्।
शनिबार गोदावरी नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले भने, “आजको अवस्थामा देशलाई अगाडि लैजाने नेतृत्व ओली बाहेक अरु कोही हुन सक्दैन। संसदमा एमाले दोस्रो ठूलो भए पनि जनताको मनमा पहिलो पार्टी एमाले नै हो।”
उनले हालै बढाइएको ७० वर्षे उमेर सीमा ओलीका लागि मात्र नभई समग्र नेतृत्व क्षमतासँग सम्बन्धित रहेको स्पष्ट पार्दै भने, “ओलीको राजनीतिक दृष्टिकोण र राष्ट्रप्रतिको अडानकै कारण उहाँ आज पनि देशको विकल्प हुनुहुन्छ।” पोखरेलले पूर्वराष्ट्रपतिहरू मर्यादित रहनुपर्ने उल्लेख गर्दै पार्टीले आफ्ना नेताप्रति सदैव सम्मान गर्ने बताएका छन्।
दुर्गा प्रसाई र रवि लामिछानेजस्ता नेताहरूको “छाडा बोली र अराजक प्रवृत्तिप्रतिको प्रशंसा” समाजका लागि हानिकारक भएको उनको भनाइ थियो। भारतले लगाएको नाकाबन्दी ओलीकै नेतृत्वमा सामना भएको स्मरण गर्दै उनले थपे, “कालापानी, लिपुलेक र लिम्पियाधुरा सहित नेपालको नक्सा बदल्ने सामर्थ्य ओली बाहेक कसैमा छैन। ढिलोचाँडो छिमेकीले पनि यसलाई स्वीकार्नै पर्छ।”
पोखरेलका अनुसार पटक–पटक फुटेपनि एमाले पुनः संगठित हुने क्षमतायुक्त पार्टी हो। उनले भने, “दूरदर्शी नेतृत्व ओलीमै छ। एमाले आज बलियो शक्ति बनेको छ र ‘मिसन ८४’लाई सफल बनाउँदै अघि बढ्छ।”
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इञ्चार्ज राजन भट्टराईले पनि पार्टीभित्र निराश हुने अवस्था नरहेको बताए। उनका अनुसार व्यक्तिगत दम्भ र गुटबन्दी छाडेर एकताबद्ध भएर अघि बढेमा विजय सुनिश्चित हुनेछ। उनले आगामी विधान महाधिवेशनले ‘मिसन ८४’ सफल बनाउन मार्गनिर्देशक भूमिका खेल्ने विश्वास व्यक्त गरे।
नगर कमिटी अध्यक्ष विक्रम घिमिरेले गोदावरीमा महाधिवेशन हुनु नगरवासीका लागि ऐतिहासिक अवसर भएको बताए। उनले भने, “२०५४ सालको एमालेको गौरवशाली इतिहास २०८४ मा दोहोरिन्छ। गोदावरीमा गुट–उपगुटलाई स्थान दिइने छैन।”
उपाध्यक्ष रमी प्रधानाङ्गले आन्तरिक तथा बाह्य प्रहारका बाबजुद एमाले कहिल्यै विचलित नभएको बताउँदै संगठनलाई अझ सुदृढ बनाउन कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गरिन्।
कार्यक्रम अघि टाहाखेल चौतारोबाट धिमे बाजा र खैजडी भजनसहित स्वागत गरिएको थियो। कार्यक्रममा गोदावरीका मात्र नभई छिमेकी पालिकाबाट पनि नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो।
भेलामा पोलिट्ब्युरो सदस्य शुसिला नेपाल, केन्द्रिय सदस्य बाबुराम थापा, बाग्मती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री मधुसुदन पौडेल, प्रतिनिधि सभा सदस्य प्रेमबहादुर मर्हजन, ललितपुर क्षेत्र नं १ इञ्चार्ज रुपनारायण श्रेष्ठ, प्रदेशसभा सदस्य प्रेमभक्त मर्हजन र रघुनाथ मर्हजन, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य, पूर्व प्रदेशसभा सदस्य चेतनाथ संजेललगायतको उपस्थिति थियो।